प्रेस विज्ञप्ती - अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ३९ औं महासभाको प्रधान कार्यालय मन्ट्रियलमा आयोजित World Aviation Forum मा ‘दीगो विकासका लागि नागरिक उड्डयनमा साझेदारी’
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ३९ औं महासभाको पूर्वसन्ध्यामा यही २६ सेप्टेम्बर २०१६ का दिन उक्त संगठनको प्रधान कार्यालय मन्ट्रियलमा आयोजित World Aviation Forum मा ‘दीगो विकासका लागि नागरिक उड्डयनमा साझेदारी’ विषयक प्रवचन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय जीवन बहादुर शाही ज्यूलाई वक्ताको रुपमा आमन्त्रित गरिएको थियो । त्यस अवसरमा माननीय मन्त्रीज्यूले भूपरिवेष्ठित राष्ट्रको सन्दर्भमा हवाई यातायातको महत्व माथि प्रकाश पार्दै नेपालमा पर्यटन विकास र हवाई सेवाको अन्तरसम्बन्धका बारेमा चर्चा गर्नुभयो । वहाँले नेपालमा पर्यटन प्रवद्र्धनको माध्यमबाट दुर्गम पहाडी भेगमा बसोबास गर्ने जनताको सामाजिक आर्थिक उत्थानमा उल्लेख्यनीय योगदान पुग्न सक्ने भएको हुँदा हवाई यातायात क्षेत्रमा आवश्यक पूर्वाधारको विकासमा नेपालले उच्च प्राथमिकता दिइरहेको धारणा व्यक्त गर्नुभयो । अधिकांश दुर्गम पहाडी भूभागमा अवस्थित नेपालका आन्तरिक विमानस्थलहरुमा भौतिक पूर्वाधार विकासको कार्य अत्यन्तै चुनौतीपूर्ण रहेको चर्चा गर्दै नेपालले त्यस्ता विमानस्थलहरुलाई स्तरबृद्धि गर्ने कार्यलाई तिब्रता दिइरहेको जानकारी गराउनु भयो ।
वहाँले मुलुकमा हाल विद्यमान एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले निरन्तर बढ्दो हवाई ट्राफिकको चापलाई धान्न नसक्ने भएकोले नेपालले थप ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण गर्ने योजनालाई अघि बढाइरहेको विषयमा प्रकास पार्नु भयो । उल्लेखित ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु मध्ये मझौला आकारका जेट वायुयान संचालन हुन सक्ने २ वटा विमानस्थलहरुमा दातृ निकायहरुबाट ऋण सहयोग प्राप्त भई निर्माण कार्य भइरहेको तर ठूला वायुयान संचालन हुनसक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको लागि नेपालले लगानीको उपयुक्त प्रारुप सहित अन्तर्राष्ट्रिय दातृ निकायको खोजी गरिरहेको उल्लेख गर्नुभयो । तान्जानियाका हवाई यातायात मन्त्री, मन्ट्रियलका मेयर, विश्व खाद्य कार्यक्रमका प्रतिनिधी लगायतका वक्ताहरु रहेको उक्त प्रवचन कार्यक्रममा उपस्थित सहभागीहरुले उठाएको प्रश्नहरुको प्रतिउत्तरको क्रममा वहाँले नेपाल जस्ता विकासोन्मुख मुलुकहरुलाई हवाई यातायातको क्षेत्रमा आवश्यक पर्ने आर्थिक एवम् प्राविधीक सहयोग जुटाउने कार्यमा विकसित मुलुकहरु तथा सम्बद्ध अन्तर्राष्ट्रिय संघ संगठनहरु अझ सक्रियताका साथ अगाडि आउनुपर्नेमा जोड दिनु भएको थियो ।
२६ सेप्टेम्बर २०१६
मन्ट्रियल, क्यानाडा ।